Thursday, January 8, 2009

आमा

- ग्रीस श्रीस

प्रत्येक साँझ जब खस्दछ धर्तीमा अन्धकार
मानौं म नाबालक शिशु
आमाको काख खोज्दछु
जब आउँदछ जीवनमा हुरी बतास
मानौं म बाटो हराएको बटुवा
आमाको हात खोज्दछु
जतिजति ढल्किदै जाँदो रहेछ उमेर
उतिउति छाउँदो रहेछ आमाको अभाव
उतिउति आउँदो रहेछ आमाको याद ।
सपनाहरूको विसंगत समीकरण बन्यो यो जिन्दगी
सबैभन्दा पहिले मैले देखें सपना आफ्नै लागि
देखें सपना त्यसपछि प्रियसी र नानीहरूका लागि
उपभोक्तावादको कोर्रा ठहरै पर्दै
मैले सपना देखें
‘क्यारियर’ र ‘फ्युचर’का लागि ।
दौडेर लामो दौड जब थाक्छु म
र पहिरोजस्तो आफ्नै जिन्दगीलाई हेर्छु पश्चातापको आगोमा ह्वारह्वारती जल्छ मेरो मन
कि मैले मेरी आमाको मुहार हँसाउने सपना
देख्न सकेनछु समयमा
जुन सपना हुनुपथ्र्यो
मेरा सपनाहरूको अग्रपंक्तिमा
छुटाएछु मैले त्यही सपना
बाँकी सबै सपनाहरूले बनाएका छन् चक्रव्युह
जसभित्र कैदी छु म
किनभने मैले देखिनँ
आमाको मुहार हँसाउने सपना ।
जब पानी पर्छ र रुझ्छु म झरीले
वा जब पोल्छ मलाई मरुभूमिमा घामले
म आमाको पछ्यौरी सम्झन्छु
जब लाग्छ मलाई भोक
वा हुन्छु थकाईले लखतरान
म आमाको काख सम्झन्छु
जब जमराको आशिष र सयपत्रीको सुगन्ध लिएर
बहन्छ हावा यो पापी ठाउँमा पनि
म आमाको मुहार सम्झन्छु
अहिले टाढा भएर आमाबाट
जब सोच्छु जिन्दगीको ‘फिजिक्स’
स्वर्ग भन्नु आमाको काख रहेछ
यो अनुभूति नै जीवनमा लाख रहेछ ।
सम्हाल्दा सम्हाल्दै
महासागरमा दिशा हराइरहेको जहाजजस्तो यो जिन्दगी
पाइला पाइला विलखबन्दमा परिरहेछु
जतिजति ढल्दै गइरहेछ उमेर
उतिउति म आमालाई ‘मिस’ गरिरहेछु ।
जतिजति बूढो रुखजस्तो हुँदै गइरहेछ यो जिन्दगी
उतिउति म आफ्ना आँखाअघि देखिरहेछु
डाँडामाथिको घामजस्ती आमालाई,
डा“डामा अस्ताउँदै गरेको घाम
र डाँडासम्मै देखिने गोरेटो हेर्दै
आँगनको डिलमा उभिइरहेकी अटल,
आँखामा मातृत्वको महासागर लिएर
पलप्रतिपल
टलपल टलपल ।

साभार ऑनलाइन नेपाली साहित्य

No comments: