Monday, June 1, 2009

सभासदको आत्मकथा

ग्रिस श्रिस मगर














वनमा लुकेर लास बस्थ्यो
र आतंक बनेर हर रात
घर घरमा पस्ने गथ्र्यो
सुन्तलाका बोटबाट
रगतका धारासँग लास खस्थ्यो
नदीमा बग्थ्यो लास
बाटोमा हिड्थ्यो लास
र छेकेर बाटो मसान हातहरूले
मानवता र स्वतन्त्रतालाई खोस्थ्यो लास
म तिनै लासहरूको घेराबाट मुक्त भएपछि
पसेको हुँ काठमान्डू ।
म मेरो गाउँलाई लासमुक्त बनाउन चाहन्थेँ
म मेरो देशलाई लासमुक्त बनाउन चाहन्थेँ
म चाहन्थेँ सारा विश्वलाई
लासमुक्त बनाउन,
त्यही कामको प्रारम्भ गर्न चाहन्थेँ म
काठमान्डूबाट ।
दुनियाँलाई लासमुक्त बनाउन
म किताबमा लिपीवद्ध गर्न चाहन्थेँ
जनताको कानुनलाई
टिपेर सहिद इच्छाहरू लयबद्ध गर्न चाहन्थेँ
सुख, समृद्धि र शान्तिको धुनलाई
म बाँड्न चाहन्थेँ काठमान्डूबाट
अबोध अनाथ नानीहरूलाई सुन्दर भविष्य
असहाय असक्त वृद्धहरूलाई सुरक्षित वर्तमान
सक्रिय तन्नेरीहरूलाई थप सक्रियता र सृजना
काठमान्डूबाट म त्यस्तो व्यवस्था गर्न चाहन्थेँ
कि स्वास्नीहरूको सिउँदोमा अनायास
लोग्नेहरूको अस्थि-खरानी खस्न नपाओस्
कहीँ कतै सुदूर दुर्गम गाउँसम्म पनि
अनिकाल र दुःख पस्न नपाओस्
हर साँझबिहान सबका हात हातमा होस्
कमसेकम एक एक थाल
जसमा होस् कमसेकम दाल र भात
सबको शिरमा होस् कमसेकम असार ओत्ने एउटा घर
जहा” पस्न नपाओस् लासको उन्माद ।
काठमान्डू त झन् लासहरूको खाल्डो रहेछ
फूलहरूका बलात्कृत कुमारी आकांक्षा
काकाकुलहरूका अतृप्त प्यास
समयका कृष्णभीर भत्केका सपना
सबका सब अनुदित भएका छन् लासमा
काठमान्डू मानौँ
लासहरूको संग्राहलय भएको छ
टाँगिएको छ जहाँ लासहरूकै सामूहिक चित्र
होचिदैं गएका अग्ला अग्ला प्रशासनिक भवन
र न्यायलयजस्ता देखिने जीर्ण घरभित्र
लासहरूले नै चलाइरहेछन्
विश्वास हराउँदै गएका शक्ति तथा सुरक्षा केन्द्र
र खूद संविधानसभा
जहाँ बसिरहेको छु म किंकर्तव्यविमूढ
निन्द्रा निम्त्याउन समर्थ आरामदायक कुर्चीमा ।
यी सब कुरा
काठमान्डू पसेपछि थाहा भयो मलाई
तर थाहा भएन बिलकुल
कि कतिखेर मरे
मेरा सारा संवेदना र सिद्धान्तहरू
मेरा सारा इच्छा र संभावनाहरू
लासविरुद्धको मेरो अभियान
र त्यसप्रतिको अटल विश्वास,
थाहा भएन कि काठमान्डू पसेपछि
कुन विन्दुमा भएँ म स्वयं लास ?
एक सभासद्को जिउँदो लास ।

1 comment:

दूर्जेय चेतना said...

सुन्तलाका बोटबाट
रगतका धारासँग लास खस्थ्यो
मनै छोयो तपाईंको कबिताले।