Tuesday, July 14, 2015

असारे नोस्टाल्जिया ................



छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला 
भदौरे झरीमा घुम ओढी फेरी त्यही धान गोडौला 

               सेउलीबजारकी साईली भाउजुले खुब मिठो भाका हालेर गीत गाउथिन भाउजु सँगै अरु रोपाहरहरु पनि लय मिलाएर गाउथे असारे गीत । भाउजुले थालेको गीत मा चक हाल्दै सेउली बजारकै गोरे दाई ले मोई लगाउथे अनी हामी बाउसेहरु पनि ओहोई ओहोई गर्दै कम्मर भाँचे जस्तै गरी नाच्दथ्यौ पनि । मानोे छरेर मुरी उब्जाउने यो असार किसानको लागि अती नै महत्वपूर्ण हुन्छ र त हामी बिहानै ५ बजे उठेर खेतमा नारिन पुग्दथ्यौ एक हल गोरु सँगै अनी फिर फिर उज्यालो हुँदा एक दुई वटा खेत का गराहरु हिलाम्मे पारिसक्थ्यौ । खेतालीहरु पनि बिहानै पुगेर बिउ उखेल्थे अनी हामीले तयार गरेको हिलाम्य खेतका गराहरु मा छुपु छुपु धान रोप्न थाल्थे । के केटाकेटी के बुढा बुढी सबैको भागमा काम पारीदिन्थ्यो असारले । छिमेकमा भाईचराको सम्बन्ध गाढा बनाइदिन्थ्यो अर्मा पर्मा गरेर सबै मिलेर खेती पाती गरिन्थ्यो । छिमेकमा आफु आफुहरु मिलेर आलो पालो काम गर्ने लाई नै पर्मा लाउनी भन्ने चलन छ । पहाडको जमिन न हो धेरै नभए पनि काम कठिन हुन्थ्यो आफ्नो त त्यही एक दुई दिनको मेलो थियो त्यही पनि काकाहरु अनी अरु पाँच सात घर मिलेर काम गर्दा असार त्यसै जान्थ्यो । जमिन नहुने हरु दिन गन्ती मा निमेक गर्दथे । पत्र पत्र परेर फाटेको बादलभित्र लुकेको घामका मधुरा किरणहरुले धर्ती मग्मगाउथ्यो । जतासुकै पानीका छहराहरुले सुसेली हाल्दथे । हरिया मकैका टुप्पामा सेता चम्किला धानचामारहरु लह लह झुल्दै नाँच्दै धानका बिउहरु लाई स्वागत गरिरहेको जस्तो आभास हुन्थ्यो मलाई । कसैका खेतमा काले र माले गोरुको एक हल हुन्थ्यो कसैको मा दुई । त्यो खेतको फाँट मलाई रङमन्च जस्तै लाग्दथ्यो अनी निकै रोमान्चित हुने गर्दथे । सरकारी कर्मचारी पनि बिदा मिलाएर खेतमा काम गर्दथे , शहरमा पढ्ने बिध्यार्थी पनि आफ्नो खेतको रोपाइको दिन पुगेकै हुन्थे सघाउन । कलेजका प्रध्यापकहरु मात्रै हैन भारत तिरका लाहुरेहरु पनि बिदामा गाउघर मै पुग्दथे त्यो असारमा । प्राय सबैको घर मा एक हल गोरु पालिएको हुन्थ्यो । एउटा छिमेकी ले अर्को छिमेकीलाई सघाउथे । माटो को सुगन्धले चारै तिर मग मग बसाउथ्यो मेरो गाँउ ।

     तर अहिले परिस्थिती अर्कै छ । समय त उस्तै हो हिजो जुन गतिमा हिंडेको थियो आज उस्तै गतिमा तर मान्छेहरु बदलिए अझ भनौ जुग परिवर्तन भयो । मान्छेका चालहरु फेरिए अझ भनौ सोचहरु परिवर्तन भए या मनहरु । हिजो जस्तो छैन असार आज गाउघरमा न त गाउघर नै असार जस्तो छ । समयको हिसाब किताब गर्ने नै हो भने पनि असार सकिएर श्रावण लाग्न थालिसक्यो न खेतहरु रोपिएका छन न त पानीका छहराहरु ले सुसेली हालेका छन । यती बेला प्रकृतीले पनि ठगेको छ किसानलाई । भर्खरै महाभुकम्पको ब्रर्जपात बाट उठेका हामीलाई मध्य मनसुन लागिसक्दा पनि बर्षा हुन सकेको छैन जस्ले गर्दा रोपाइ ढिला भएको त छ नै झन खेतमा उम्रिएको बिउपनी सुकेर मर्ने हो कि भन्ने डर बढेको छ । मनमा खडेरी त लागेकै थियो झन प्रकृतीले पनि खडेरी थपिदिदा कस्को दिल नचहराउला र ?

अर्को तर्फ न हली खोजेर पाईन्छ न त बाउसे नै भेट्टाउने अवस्था छ गाँउमा । छोरो बिदेश पसे पछी केटाकेटी च्यापेर बजार झरेकी बुहारीलाई पनि झर्को लाग्छ रे गाँउ उक्लिएर खेतको हिलो मा खुट्टा छिराउन । पैसो भन्ने चिज पनि यती सस्तो भयो कि आफ्नै हातले उब्जाएको आर्गनीक चामल भन्दा बजारमा पाइने उसिनेको चामलको भात मिठो लाग्न थाल्यो । आफ्नै हात ले मुंग्रोमा खाँदेको अमिलो मिठो सिन्की भन्दा बजारमा आयातित बट्टाको रासायनिक अचारले जिब्रोको स्वाद बिगारिदियो घरजहानको ।   मुलत देशमा चर्केको जनयुद्द पस्चात युबाहरु बैदेशिक रोजगारी को लागि बिदेश पस्ने क्रम तिब्ररुपले बढेर गयो । हिजो भारत सम्म पुगेर मजदुरी गर्ने नेपाली युबाहरु आज मध्यपुर्बका देशहरु साउदीअरब, दुबइ, कतार, कुबेत लगायत फारइस्ट मलेसिया, थाइल्यान्ड, सिङापुर हुँदै कोरिया जापान का गल्ली गल्लीमा मजदुरी गरिरहेका छौ । कारण जे जस्ता भए पनि गन्तब्य जहाँ कही भए पनि उदेस्य सबै को एउटै हुन्छ धन कमाउने । आफ्नै पैसाले आफुलाई नै बेचेर धन कमाउन हिंडेका हामी प्रदेशीका सपना आफुले बोकेर ल्याएका झोलाका कपडाहरु भन्दा धेरै हुन्छन तर फरक त्यती मात्रै हुन कसैका केही पुरा हुन्छन भने धेरैका अधुरा । आफु पालिएको, आफुलाई हुर्काएको धर्तीलाई बाँजो राखेर पराइको माटोमा पसिना चुहाउनु रहर त कस्लाई पो हुन्थ्यो र आखिर तर पापी पेट्को सबाल छ भन्ने नाउमा हाम्रो महत्वकांक्षले पनि हामीलाई मजबुर बनाएको पक्कै छ । हिजो खेतमै पसिना बगाएर हासिखुसीले परिवार पालेका काकाहरु पनि बुढेसकालमा पासपोर्ट बनाएर मलेसियाका जङलमा काठ बोक्न पुग्नु भएको छ । प्राइभेट स्कुलमा पढाउदै किरना पसल चलाएर महिनामा बिस हजार सजिलै बचाउने मास्टरसाबहरु पनि बिदेशकै धनको धक धकीले दुबइको कोल्ड स्टोरमा काम गर्दै औंला भाँच्नु हुन्छ अनी हिसाब निस्किन्छ मुस्किल ले २५ हजार । के हामी सबै वाध्यता ले यो गरीरहेका छौ त ? के हामी नेपाली युबा सबै खाना नपुगेरै मुग्लान छिरेका छौ त ? कि हामीलाई हामी भित्र को धन कमाउने महत्वकाँक्षले दिन प्रतिदिन यो मोहको दल दलमा धसिरहेको छ ? या त देखासिकी मा बढीरहेका असिमित आवश्यकताहरु ले धकेलिरहेका छन मुग्लानतिर । प्रश्नहरु अनगिन्ती छन तर आफ्नो मनलाई सम्झाइ बुझाई गर्ने गतिलो उत्तर कतै बाट पनि आउन सक्दैन । हामी बिचलित छौ अनी बेचैनी छौ र त धर्यता र लगनसिलता जस्ता मुल्यवान चिज गुमाइरहेका छौ दिन प्रतीदिन । फरक केही पनि थपिएको छैन जिन्दगीमा भरीएको छ त केबल लोभ लालच अनी ढोगीपन । जिन्दगीभर अरबको मरुभुमी मा पसिना बगाएर शहरको एउटा कुना मा दश हात जग्गा किनेर दुई तले घर बनाउनु नै प्रगती गर्नु हो भने यही प्रगती गरिन्जेल गुमाएका चिजहरुको हिसाब किताब गर्ने कहाँ छ क्याल्कुलेटर ? भेडाबाख्राको बथान जसरी हामी बिदेश पस्नाले पनि बिदेशीहरु को नजर मा हामी गरीब कहलिएका हौ कि जस्तो लाग्छ मलाई त । हुन त कर्णाली को भोक र राजाधानीको तिर्खालाई बुझ्न नसकेका र दलिय स्वार्थ बोकेर सत्तामा आसिन भुँडीलाहुरे (नेताहरु) ले राज गरेर टाट पल्टिन लागेको राज्यको गरीब किसानको छोरो म प्रदेसको गल्ली मा चौकीदारी गर्दै हिसाब गर्ने हैसियत कहाँ राख्न सक्छु र ? 

जे होस खेती पाती गर्ने त्यो असारलाई सम्झेर आजै घर मा रहेकी एक्ली बुढी आमालाई फोन गर्न भ्याए । कुरैकुरामा मान्छे खोजेर खेत रोप्नु होला है भन्न् पुगेछु । “सबै त जस्तै घर भन्दा प्रदेश प्यारो ठान्छन, को छन र गाँउमा छोरो मुन्छे अहिले” आमाको उत्तरले म झसँग भए । हो त नि को छन र गाँउमा अहिले अनी रोपिदिन्छन मेरो खेत ? एकफेरी निधार खुम्चाएर सम्झिए गाउघरलाई, पुछारदेखी सिरान सम्माका घरमा डुलाए नजर । तल दिले दाई कतार, मास्तिर तिले दाई साउदी, पल्थिर सेते काकाको छोरो कोरिया, बाटाघरे पण्डितको छोरो जापान, डरमुनीका पुर्ने दाई युरोप, डांडाथोक का बिबस दाई अमेरिको डिभी परेर सपरिवार उतै,   बिचरीथरका साइला मामा क्यानाडा, पल्लो गाउकी लक्ष्मी भाउजु कुबेत, डाँडाघरे मास्टरबा कि छोरी दिपिका इजरायल अनी म घरको जेठो छोरो दुबइ । सरकारी जागिर खाएका प्राय परिवार सहित शहरतिर बसाइ सरेछन ।  उफ हो त नि सिंगो गाउ त खाली नै रहेछ । यसरी नै नबयौबनहरु सबै बिदेशतिर हिंड्ने हो भने गाउँ एका एक बृद्दआश्रम पो बन्ने हो कि ? मेरो गाउ त एउटा प्रतिनिधि पात्र मात्रै होला आखिर देशको कुन गाउँ बाँकी होला र अहिले त्यस्तो जहाँका युबाहरु प्रदेश नहिडेका हुन । सम्झेर ल्याउदा मन अमिलो भयो शरीरमा चिट चिट पसिना आउन थाल्यो । कल्पना कल्पनै मा ति असारे झझल्कोहरु आउन थाले । हरियो धानको बिउ हिलो मा छुपु छुपु रोप्दै हिलो खेल्ने ति दिदीबहिनी भाउजु हरुलाई सम्झिए , ब्याडमा बसेर बिउ काट्दै खेताल्नीहरु लाई बिउ पुराइदिने ति काकी अनी हजुरआमाहरु लाई सम्झिए । बिहानै उठेर खेतमा हल नार्ने सेउली बजार का गोरे दाई लाई सम्झिए अनी मिठो भाका हालेर असारे गीत गाउँने सेउली बजार कि साइली भाउजु लाई सम्झे, फेरि आफ्नै जिन्दगीलाई सम्झे । असारको छिपे छिपे हिलोमा धान रोप्न जती सजिलो थियो त्यो भन्दा गार्हो रहेछ प्रदेशको तातो बालुवामा धसिएको जिन्दगीलाई निकाल्न । दगुर्दा दगुर्दै झिपिक झिपिक गर्दै ट्राफिक लाइटमा रोकिएको गाडी जस्तै लाग्न थाल्यो आफ्नो जिन्दगी जहाँ जता गए पनि रेड सिग्नल मात्रै छन । मनमा तनाब थपिए पछी फेसबुक खोले अनी स्टाटस अपडेट गरे 

असारे हिलो छुपु मा छुपु खेतमा धान रोप्दै 
रुँदीहुन आमा आलीको डिलमा बसेर मुख छोप्दै

अनी मेरो आँखामा टिलपिलाएका आसु पुछ्दै सिरक ले मुख छोपेर सुते । भोली पल्ट बिहानै उठेर हेरेको १०० लाइक आएको रहेछ नआओस पनि किन म जस्तै सबै दौतरीहरु भाई भतिजा जो जस्ले लाइक गरे सबै म जस्तै प्रदेशको कुनामा बसेर रोइरहेका छन फेसबुक चलाऊदै । आखिर कहिले सम्मा यो निरन्तरता ??  

बेनी साप्ताहिकमा प्रकासित 


2 comments:

नीराजन शिरीष said...

असारे नोस्टालजिया भनिए पनि समग्रमा यस लेखले नेपालीहरूकाे विदेश पलायनले गाउँघरमा खलल पुर्याएको सामाजिक संरचनालार्इ मर्मस्पर्शी ढंगले अभिब्यक्त गर्ने काम गरेको छ । सलाम छ गुरूको कलमलार्इ ।

Prakusu Subedi said...

धन्यवाद गुरु हजुरको अभिब्यक्ती लाई अनी सलाम पनि । हजुरको प्रेरणा मिलिरहोस्