Saturday, August 22, 2015

म बहुलाउन सक्छु

बिहानीको लाली सँगै 
सितका थोपाहरु टल्किनुको सट्टा 
सडकमा आगोहरु बलेको देख्दा 
धर्तीलाई चुमेर उमंगित हुने पौरखी हातहरुमा 
मसालहरु जलेको देख्दा 
कठै ! म आँफै बेहोस हुन पुग्छु 

किन मान्छेहरु नक्सामा च्यातिएका होलान 
किन नबयौबनहरु ढुङ्गामुढामा उफ्रिएका होलान ? 
सबैलाई थाहै छ 
कोरिएका रेखाहरु ले भोको पेट अबस्य भरिन्न 
नाँगो जिउ अबस्य छोपिन्न 
एकछिन सडकलाई रोक्दैमा 
समयलाई पक्कै रोक्न सकिन्न 
सडक मा शहीद हुँदैमा देश माथि उक्लिन्न

खै ! मैले नबुझेको कि मुन्छेहरु ले धेरै बुझेका हुन 
हिजो गरीबका दिनहरु ल्याउने भन्दै 
हातमा ढुङ्गा बोकेर सडकमा लडेको म 
आज अरबका खजुरको बोटमुनी बसेर 
पसिना पुछ्नुको पिडा कुन शब्दमा लेखौ 
उता ! बुर्जुक शिक्षा पढ्दिन भन्दै 
बन्दुक बोकेको भाई 
आज मलेसियाका जङलमा काठ बोक्दै 
धिक्कर्दै छ आफुलाई 
पारी गाउकी सुनमाया थेबे 
बर्गिय हित र जातिय मुक्तीको लडाईंमा घाइते 
आज कुबेती साहुको घरमा लुगा र जुँठा भांँडाहरु संगै 
धोइरहेकी छे खाटा बसेको घाऊँहरु 
कोरियामा पल्लघरे काका बङगुर काट्दै 
बिर्सन खोज्दै छन आफुले सडकमै हत्या गरेका सपनाहरुलाई 

आखिर ! अकाट्य सत्य 
देश बने पो हामी बन्ने रहेछौ 
नेपाल रहे पो नेपाली रहनेछौ 
तर तितो यथार्थता 
पहिचानको लडाईं भन्दै पहिरन जलाएको देख्दा 
कसैको स्वार्थले दाजुभाइहरु लडाएको देख्दा 
मेरो मुटुमा हुटहुटी चलेर आउछ 
दिमाखमा रिगटा लागेर आउछ 
आखिर मेरो देश जस्तै 
म पनि बिमारि पो भएछु 
यस्तै हो भने 
अब म बहुलाउन सक्छु .............!!









No comments: