Monday, February 15, 2016

फक्रिन नसकेको हाम्रो भ्यालेनटाईन



















एउटा कुरो भनौ दिपे ! ठुस्किएर उतातिर फर्किएकी उनले म तिर नहेरी बोलीन । 
मन लागे हजारै भन न किन एउटा नि म उतैतिर सरेर उनका केसहरु खेलाउन थाले । थामडाँडाको हरियो चौर , धौलागिरी हिमाल को मनमोहक दृस्य अनी उनको समिप अरु मलाई के चाहियो र संसारकै भाग्यमानी प्रेमी थिए म । 
“ बाबा कोरिया बाट नफर्किने गरी आउने रे अब आमाले भित्र भित्र केटो खोज्दै हिंड्नु भएको छ रे मेरो बिहेको लागि ” ऊ मेरो काखमा पल्टिदै सुस्केरा हाल्न थाली । उनका राता गालामा भयका रंगहरु दौडिरहेको प्रस्ट देखिन्थे । 
किन टेन्सन ! म नै केटो बनेर तिम्रो आमाले खोजेको ठाउँमा जाउला नि हुन्न ! म जिस्किन खोजे 
तिमी केटाहरु कहिले पनि सिरियस हुँदैनौ ! उठेर केस मिलाउदै जाउँ अब त साँझ परिसक्यो भन्नथालिन । मलाई भने छुट्टीन मनै थिएन । समय पनि कती छोटो कुन्नी ? तल बेनिबजार तिर झिलमिल बिजुली बत्ती बलिसकेका थिए ! ओहो आकसमा पनि तारा झुल्किसकेछन । हामी कन्थराजथानको धारामा पानी पिएर आ आफ्नो घर तिर लाग्यौ । 
घरमा पुग्दा आमाले खाना पस्केर मलाई कुरिरहनु भएको रहेछ । खाएर कोठातिर छिरे , बत्तिको उज्यालोमा टेबल माथिको हरियो रहदानी टल्किरहेको थियो । अस्ती मात्रै सरकारलाई ५ हजार दाम तिरेर बनाएको थिए पल्लोथरका झिल्के दाइले बिदेश पठाइदिन्छु भनेर । अघी सोमाले भनेका कुराहरु ले मनमा पिरो पस्यो । दुई चार बर्षा बिदेश गएर पैसा कमाएर उनीलाई नै बिहे गर्ने योजना थियो मेरो । घरको स्थिती सम्झे दमको बिमारि ले ओछ्यानमा पल्टिएका बुढा बाउलाई सम्झिए , आफुले नखाएर हामीलाई पेटभरी खुवाउने आमाको मलिनो अनुहार अनी ति कलीला भाईबहिनीहरुलाई सम्झे । देशमा माओवादीहरुको जनयुद्द चर्केको छ न जागिर पाईन्छ न पढाई नै सकिएको छ । मेरो अनुहार मा चिट चिट पसिना आयो ! उफ ! ब्यर्थै उनीलाई माया गरेछु जस्तो लाग्यो । 
लामो सुस्केरा लिए ! अम्खोरा तानेर पानी पिए प्यास मेटिए पनि सन्ताप को तिर्खा बढेर आयो । बत्तीतिर नजर डुलाए पुतलीहरु झुम्मिरहेका थिए । बल्नु पर्छ र मात्रै सबैले देख्छन म नि पुतलीहरु झै मुन्छेहरु लाई झुम्माउन बल्न सिक्नु पर्छ । एक संकल्प गरेर निदाए जसो तसो । 
उनको १० क्लासको टेस्ट चलिरहेको थियो मन भएर पनि हामी भेट्न सकेका थिएनौ । उनिले धारामा पानी भर्दा नजर मेरो घरतिर तेर्साउथिन यता म उज्यालो भयो कि आँखाहरु उनकै घरको बार्दाली तिर तन्काउथे । ५ मिनेटको दुरिमा उभिएका हाम्रा घरहरु कोषौ टाढा लाग्थे मलाई । लुकेर भेटौ भने पनि कसैले देखे भने गाउँ भरीकालाई खाजा पुग्थ्यो । उनको परिवार हुनी खानि थियो म गरीब परिवारको जेठो छोरो । उनिलाई जती खुशी थियो जिन्दगीको त्यती नै बढी मलाई जिम्मेवारि पनि । शायद त्यसैले पनि होला हाम्रो प्रेम थाहा हुनेहरु ले जिस्काउने गर्थे तिमीहरुको यात्रा दुई दिनको हो तर उनिले सधैं भन्ने गर्थिन यो जुनी त के सात जुनी पनि म तिम्रै हुनेछु दिप ! म उनिले दिएको बचन सम्झिदा आफुलाई खुब भाग्यमानी ठान्थे । हाम्रो प्रेमको सुरुवात पनि अचम्म तरिकाले भएको थियो । एकदिन उनी मलको डोको बोकेर खेतमा जादैथिन हामी साथीभाइ खोलामा पौडी खेलेर फर्किदै थियौ । खुट्टा चिप्लिएर उनी लड्न पुगिन, मल को डोको घोप्टियो मैले गएर उठाइदिए उता केही साथीहरुले ताली पिटे । उनी लजाउदै केही नबोली बाटो लागिन भोलिपल्ट देखी साथी भाईले उनको र मेरो नाम जोडेर जिस्काउन थाले । खै त्यसपछी मेरो मनमा के चल्यो कुन्नी एउटा चिट्ठी लेखेर दिए । त्यतिबेला म कम्ती तड्पिन उनको उत्तरको लागि, सात दिन सम्म देख भेट नै भएन शायद रिसाइछिन क्यारे जस्तो लाग्यो तर आठौ दिनमा उनिले मेरो प्रेम प्रस्ताबलाई स्विकारेर पत्र पठाइन । संसारकै अंमुल्य चिज पाएको जस्तो भएको थियो मलाई । 
मेरो भिसा लागेछ मलेसिया तिर काम गर्न जाने । उनिलाई खबर गर्न मैले थामडाँडामै बोलाए । सुनसान रात थियो आकाशमा ताराहरु टिल्पिलाईरहेका थिए । उनी सुँक्क सँुक्क गरेर रुदै थीईन । अरे लाटी दुई बर्षा त हो नि ! पैसा कमाएर फर्केपछी तिम्रो आमाबाउ सँग हात मागेर डोली मा सजाउदै लैजान्छु तिमीलाई, मैले फकाउने कोशीस गरे ।
अँ यहाँ आफुलाई २ मिनेट नदेख्दा मुटु चुडिए जस्तो हुन्छ मुन्छे २ बर्षाको कुरो गर्छ । के बिदेश नै जान पर्छ र यही सानो तिनो केही गरे हुँदैन यती भन्दै उनी मेरो अंगालोमा घोप्टिदै डाँको छोडेर रोईन । म सँग कुनै उपाय पनि त थिएन न त उनिलाई यसरी रुँवाएर प्रदेशी हुनु रहर थियो । मनिसको जिन्दगी को सबै भन्दा ठुलो सत्रु नै गरीबी रहेछ जस्तो लाग्यो । दुई बर्षा जसरी पनि एकले अर्कालाई कुर्ने भन्दै माहारानीथानकी देबी लाई साक्षी राख्दै कसम खायौ । हाम्रो बिछोडको त्यो पल देखेर तल बगिरहेको काली खोला पनि रुदै बेस्सरी सुस्साइरहेको थियो । 
प्रदेश भनेको प्रदेश नै रहेछ जतिबेला पनि काम । घरमा सिन्को नभांँच्ने मलाई मलेसियाको जंगलमा काठहरु मेसिन मा चिर्दा आफ्नै मुटु चिरे जस्तो हुन्थ्यो आर्को तिर सोमाको याद ले पल पल छट्पटिन्थे । त्यो बेला मा अहिले जस्तो मोबाइल थिएन न गाउमा ल्याण्डफोन नै । चिट्ठी पठाएको ३ महिनामा मुस्किल ले उनको जबाफ पाए । उनिले लेखेकी थीईन जती टाढा भयो माया झन गाढा हुदोरहेछ दिपे ! उनका ति सब्द हरु पढ्दा अनायासै मन भरिएर आउथ्यो अनी एकान्तमा गएर धित मरुन्जेल रुन्थे । दुःख पछी सुख आउछ बिछोड पछी मिलन जाबो २ साल त बितिहाल्छ नि म घरको आवश्यकता र उनीसंगको मिलन को आसामा निकै मेहनत गरेर काम गर्थे । ३ ÷ ४ वटा पत्र आदानप्रदान मै समय ले बर्षा दिन काटेछ म बिदेश छिरेको पनि । मेरो हरसमय उनका तिनै मायाबी शब्दहरुले कोरिएका पत्रहरु पढेर बित्ने गथ्र्यो । मैले २ वटा पत्र पठाउदा पनि उन्को एउटा जबाफ आएन । मनभरी कुरा खेल्थे मेरा के गर्ने के नगर्ने कुनै मेसो नै थिएन , फोन गरौ न कुनै नम्बर छ पत्र लेख्यो जबाफ आउँदैन । घर बाट चिट्ठी आउँदा पनि उनको बारेमा केही लेख्दैनथे कसैले पनि, मेरो मन बेचैन थियो । मेरो मनमा संका बढेर आयो  कतै उनको बिहे त भएन ? जसो तसो २० महिना काम गरेर बिताए तर त्यहा भन्दा बढी मलाई मलेसिया मा बस्नै मन लागेन । म फर्किए मेरो देश मेरी सोमा लाई भेट्ने अदभुत चाहनाहरु बोकेर ।
जसरी हजार सपनाहरु बोकेर मलेसिया पसेको थिए त्यसरी नै हजारौ सपनै बोकेर फर्केको थिए म आफ्नो देश फरक त्यती थियो जादा निरास मन अमिलो चेहेरा तर फर्किदा भने अनुहार भरी उमंगका तरंगहरु । सोमालाई भेटेर बिस महिना देखी मनमा संगालेका पिडाहरु सुनाउन चाहन्थे म त्यसैले एरपोर्ट झरेकै दिन गाडी चढेर गाउ तिर लागे । म गाउ पुग्दा पाखा भरी पहेंलै प्याउली फुलहरु फुलेका थिए , थामडाँडामा सल्लाका बोटहरु अग्ला अग्ला भएका रहेछन । मेरा नजरहरु उनिलाई देख्नको लागि आतुर थिए तर उनको अत्तोपत्तो पाईन । भोलिपल्ट गाउ घुम्दा थाहा भयो उनको त बिहे भईसकेछ पल्लो गाउतिर । बुढो भारतीय सेनामा भाएकोले बिहे गरेर उतै लगेछ । म भने भित्र भित्रै जले । यस्तो लाग्थ्यो कि मैले सुनेका यि खबरहरु झुट्टा हुन । उनी कही कतै मलाई नै कुरेर बसेकी छिन तर कल्पना र यथार्थमा धेरै अन्तर भइसकेको थियो । आफ्नो जिन्दगी आँफैलाई बिरक्ती लागेर आउथ्यो मलाई । बिरह लाग्दा त्यही थामडाँडामा पुग्थे जहाँ उनी र म माया साटेर घण्टौ कुरा गर्ने गर्दथ्यौ । थामडाँडा त्यही थियो, हामीले ढुङ्गामा कोपेका हाम्रा नामहरु पनि उस्तै थिए, पारीपट्टी देखिने त्यो धौलागिरी हिमालको मुस्कान पनि त्यस्तै थियो तर म र उनी फरक भईसकेका थियौ । थाहै नपाई हामी हिंड्ने बाटाहरु अलग भाईसकेका थिए, सँगै बाँच्ने सपनाहरु अधुरै थिए । सात जुनी सम्मा साथ दिन्छु भन्ने उनको माया झुट्टो भईसकेको थियो सबै भन्दा पनि हिजो मेरी हुन्छु भन्ने उनी अर्कैकी भईसकेकी थिईन । आँफैले आँफैलाई चित्त बुझाउदै जिन्दगी जिउने रहर बोकेर फेरी खाडी तिर छिरेको पनि धेरै बर्षा भैसकेछ आज । 
हो यस ! मान्छेलाई बिर्सिए पनि यादहरुलाई बिर्सिन नसकिने रहेछ । हामीले सँगै छोएका कालिगण्डकीका पानीहरु बगेर कहाँ पुगेका होलान कुन्नी , धौलागिरी हिमालमा कती हिउँहरु पग्लिएहोलान कती थपिए होलान तर हामीले बिताएका केही पलहरु जिन्दगी भरी लाई दाग बनेर रहिरहे मनभरी कहिले पनि पखाल्न नसकिने गरी । यती बेला नबयौबनहरु प्रेम दिबस भन्दै सामाजिक सन्जालमा उफ्रिएको देख्दा, यो शहरका तिरेमिरे लाइटहरु ले सजाँईएका प्रेम सन्देशहरु आँखाले पढ्दा खै किन हो मलाई त्यतिबेलाको हाम्रो फक्रिन नपाएको प्रेमको काहानी सम्झिन मन लाग्छ । अनि अनायासै तिमीलाई सोध्न मन लाग्छ

गरीबको माया तिमीलाई सस्तो लाग्यो 
भन न भन ए छोडिजाने तिमी 
धनीको माया कस्तो लाग्यो ? 

कालन्तरमा पुगेर हामीले सँगै बिताएका ति पलहरुको याद आयो भने वा कही कतै पछाडि फर्केर हेर्न पुग्यौ भने मलाई माथिको प्रश्न को जबाफ दिनु है । अहिले लाई भने प्रेम दिबश को हार्दिक शुभकामना । गल्ती भए माफ गरिदेउ यो प्रेमिल मन लाई फेरि .......।

No comments: