Tuesday, June 16, 2015

अधुरो कहानी



यती बेला समुन्द्रको किनरामा उभिएर म छालहरु मा तिम्रो तरंगहरु खोजिरहेको छु । ऊँ त्यो पर देखिने तीन तले पानी जहाजले छालहरु छिचोल्दै हजारौ मान्छेहरु लाई गन्तब्यमा पुर्याउन हिडिरहेको छ तर म पिजँडाको चरी झै तिम्रै यादहरु मा कैद भईरहेको छु । थाह छैन मनरुपा म आँफैलाई यि अघोषित कैद सजाँय को सिमा रेखा कती लामो छ भनेर हुन सक्छ यो ज्यान मा रक्त संचार भए सम्म  यो संजाय भुक्तान गरिरहनु पर्छ मैले ।


     हिजो जस्तै लाग्छ मलाई त्यो कालीगण्डकी को किनार किनरै तिमी र म हात समाएर हिंडेको । त्यतीबेला तिमीले भन्थ्यौ मनिसको जिन्दगी पनि यही गण्डकी जस्तै हो जसरी अनेकौ चट्टान सँग जुँध्दै यो नदी निरन्तर बगिरहन्छ गन्तब्यमा पुग्नको लागि त्यसरी नै हाम्रो प्रेमिल यात्रा रोकिने छैन कुनै चट्टानमा ठोकिएर या बिन्दु मा कोरिएर । हो मनरुपा तिमीले भने जस्तै म बगिरहे, निरन्तर ठोक्किए अनेकौ भिमकाय चट्टानहरुमा, छिचोलिए धेरै खोल्साहरुमा अनी घोलिए धेरै बालुवाहरु मा तर पत्तै भएन मलाई तिमी कती बेला फुत्कियौ मेरो हातबाट अझ भनौ मैले सोच्नै सकिन तिमी पनि एउटा चट्टान मा ठोक्किदा बग्ने धार परिवर्तन गर्न सक्छ्यौ भनेर । फलस्वरुप आज म संसारकै होचो गल्छी कालिगण्डकी जस्तै गहिरो चोटहरु बोकेर जिउन बाध्य छु थाह छैन शायद धौलागिरी जस्तै अग्ला खुशीहरुले तिमीलाई चुमेकी चुमेनन । यिनै गहिरा चोटहरुमा तिमीलाई सम्झिन पाउदा म एकदमै खुशी हुन्छु मनरुपा । माफ गर मलाई तिमीलाई खुशीहरु को गुच्छामा उन्न नसकेर नै यि चोटहरुमा बारम्बार मिसाइरहेको छु । आखिर मान्छेको जात स्वार्थी हुन्छ म आफ्नो खुशीको लागि तिमीलाई सपनामा देख्ने गरेको छु । एक पल को खुशीको लागि हजार पलहरु झुटो बोल्ने गर्छ मान्छे हो त्यही मान्छे भित्र को अर्को मान्छे म तिमीलाई नाम दिन्छु भनेर झुट्टो बोल्दै आँफै गुमनाम हुन पुगे । यो समाज भन्ने जिनिस पनि अचम्मकै रहेछ मनरुपा । नमिल्नुपर्नेहरुलाई मिलाइदिन्छ, भेट्नुपर्नेहरुलाई छुट्टाइदिन्छ, दुँनियाका सपनाहरु लुटाइदिन्छ । मान्छे मान्छे बिच पर्खाल खडा गर्छ त फलानो जातको म फलानो जात भन्दै हिड्छ । हेर त मनरुपा के यो मान्छे ले आफ्नो स्वार्थ पुरा गर्नलाई बनाएको हैन र ? आखिर के छ यो जातमा ? तिमीले पिउने पानीमा पनि त्यही प्यास छ जुन मैले पिउने पानीमा पनि भने मैले छुदा जुट्ठो अनी तिमीले छुँदा चोखो कसरी भयो ? फेरी तिम्रो शरिरमा बग्ने रगत जस्तै रातो मेरो शरिर मा पनि रातै छ भने कसरी तिमी ठुलो जात कि अनी म तल्लो ? कस्तो अचम्म छ है मनरुमा यो सामाजिक परम्परा ! मैले सिलाएको कपडाहरु बिष्टहरुको घर भित्र लैजानु हुने तर म उनिहरुको दैलो नाघ्योकी अछुत हुने ? मैले बनाएका भाँडाकुडामा बिष्टहरुले भात खान हुने तर बिडम्बना तिनै भाँडा बनाउने मेरा श्रीजनसिल हातहरुले छोएको पानी नचल्ने ?  यो त सब मनिसहरुले सृजना गरेको बन्धन हो मनरुपा, यिनै बन्धनहरु लाई तोड्नु पर्छ भनेर नै हामीले माया लाएको हैन र ? माहारानीथानको डिलमा बसेर तिमीले नै भनेकी थियौ एउटा ढुङ्गाको मुर्तिलाई खुशी बनाउन म हजारौ फुलका कोपिलाहरु चुड्न सक्दिन भनेर । म त्यती बेला आफुलाई निकै गर्व गर्थे तिमी जस्तो चेतनशिल नारिको प्रेमी भएर उभिन पाउदा । आज ति कुरा हरु सम्झिदा पनि तिम्रा तस्बिरहरु हेरेर अनयासै मुस्कुराइरहन्छु म । 


  अर्को तर्फ यो धन भन्ने पनि एउटा नामको चिज रहेछ , दिन दुइगुना रात चौगुना धनको महिमा चुलिएर गएको छ । त्यसैले हेर त हाम्रो समाज धनहुने लाई पूजा गर्छ डोला मा चढाएर सुमेरु पर्बत घुमाउन खोज्छ तर धन नहुनेलाई कस्ले सोध्छ , कस्ले बुझ्दछ ? यही धनको प्रभाब ले नै यहाँ हजारौ प्रेमका डोरिहरु बाँटिएर नसकिदै चुडिन्छन अनी त मुना मदन लैला मन्जुलहरु लेखिन्छन । दुँनियामा मनिसको ठुलो सत्रु भनेकै गरीबी रहेछ हो यही गरीबी मा फक्रेको हाम्रो पिरती ले सामाजिक बन्धन लाई तोड्नु भनेको लगभग कालीखोलालाई उल्टो बगाउनु जस्तै थियो त्यसैले तिम्रो मन रुवाएर म प्रदेश हिंडेको थिए । सदियौ देखी चलेको सामाजिक चलनलाई परिवर्तन गर्न नसके पनि कम्तिमा तिमीलाई तिम्रो घर देखी भगाएर मेरो झुपडी सम्म ल्याउन पनि मैले धन कमाउनु जरुरी थियो । तिमी मेरो जिबनको दियो थियौ मनरुपा त्यो दियो जलाउनलाई पनि म सँग तेल हुनु जरुरी थियो त्यसैले म तेल किन्ने पैसा कमाउन प्रदेश पसेको थिए । तिमीले भुल्यौ कि कुन्नी मलाई त पल पल तिनै क्षणहरुले सताउछन मनरुपा । जेठ महिना को गर्मी थियो काली र म्याग्दीखोला बेजोड सुस्साइरहेका थिए त्यो भन्दा पनि धेरै तिमी सुँक्क सुँक्क गरेर रोएकी थियौ । तिमी जती आँखा मा आशुहरु टिल्पिलाउदै रोएकी थियौ त्यो भन्दा धेरै म मुटु चर्काएर रोएको थिए । माथि हाँडेभिरको काप मा फुलेका दुई थुङा गौथली फुलहरु पनि ओईलाए जस्तै देखिएका थिए हाम्रो बिछोडको त्यो पलमा । म हात हल्लाउदै काली खोलाको पुल तरेर हिंडे तिमी रुदै गाउँ फर्केकी थियौ । त्यसपछिका दिनहरु त मलाई सम्झिनै मन लाग्दैन मनरुपा । अहिले जस्तो सेकेण्डमा फ्रेन्ड रिक्वेस्ट आउने, एड हुने, राता राता लाईक आउने, प्रेम हुने अनी सेकेण्ड भर मै ट्र्याजेडी हुने प्रेम थिएन हाम्रो । एउटा चिट्ठीको उत्तर पाउन कम्तिमा पनि तीन महिना कुर्नै पर्दथ्यो । त्यो तीन महिना मेरा कसरी बित्ने गर्दथे म शब्दमा लेख्न पनि सक्दिन मनरुपा तर हरेक तीन महिनामा तिम्रो पत्र नभएर तिमी नै मेरो सामु उभिएकी जस्तो हुन्थ्यो मलाई । तिमीले लेख्ने गर्थ्यौ “ज्यान जती टाढा भयो झन उती माया बढ्दो रहेछ भनेर” तर त्यसरी बढेको तिम्रो माया अन्त त उम्लिएर पोखियो अर्कैको खेतबारिमा । जेठ महिनै थियो त्यो पनि हाँडेभिरमा फुलेका गुँरास हरु ओईलिएर झर्दै थिए, अर्थुङेको पाखाभरी प्याउली पहेलिदै थियो, खेतमा घोगा लागेका मकैका बोटहरु धानचमार हल्लाउदै प्रदेशीको बाटो कुरीरहेका थिए तर समाजलाई नै परिवर्तन गर्नु पर्छ भन्ने तिम्रो मन आँफै परिवर्तन भएको रहेछ । सहनाई फुकेर ढोलागी बजाउदै डोली चढेर गयौ त्यो भन्दा पनि जुगौ जुग तिमीलाई साथ दिन्छु भन्ने तिम्रो कसम आँफैले तोड्यौ । सिउँदो तिम्रो तर अर्कैको नामको  सिन्दुर भरियो, गला तिम्रो तर मंगलसुत्र अर्कैको भयो, नाम तिम्रो तर पुछारमा अर्कैको थर झुन्डियो । धन्य तिमी पवित्र भयौ, चोखी भयौ, कुलकी छोरी÷बुहारी भयौ जहाँ गए नि पानी चल्ने भयौ, संसारकै सबैभन्दा ठुलो जातकी भयौ । मैले देख्दा अरु कसैकी सम्पत्ति भयौ । म हिजो पनि सानो थिए आज पनि सानै जातको छु मनरुपा ! आखिर हामी पानी नचल्नेको माया कहाँ चोखो हुदोरहेछ र ? ढुङ्गाको मुर्तिले त हामीलाई बिभेद गरिरहेको छ भने तिमी त मान्छे हौ पलभर मै कोल्टे फेर्नु के ठुलो कुरा भयो र ? अन्त त हाम्रो मायामा पनि बैसरीको पहिरो खस्यो अनी एकाएक पुरिदियो ति समाज परिवर्तन गर्ने अठोटहरु है ! मनरुपा । आखिर सत्य तितो नै थियो तिमी अर्कैकी भैसकेकी थियौ । 


हरेक चिजको महत्व अभाबमा मात्रै बढ्ने रहेछ । मेरो जिबन मा तिम्रो कती महत्व थियो शायद तिमीलाई आभास हुने कुरै भएन तर तिमी बिनाको जिन्दगी कसरी बाँचेको छु त्यो मलाई मात्रै थाहा छ । मेरो चारै तिर हाम्रो पिरती ले दिएको चोटहरुका बास्नाहरु मगमगाउदै फुलिरहेका छन म तिनै बास्ना सुँघेर बाँचिरहेको छु एउटा मिनपचासे जिन्दगी मनरुपा । मलाई राम्रो सँग थाह छ जेष्ठ महिना सकिनै लागेको छ त्यहाँ, तिमीले पनि दशौ बर्षागाँठ मनाइसक्यौ तर मैले दशौ जुनी सम्म पनि सक्दिन तिमीलाई भुल्न आखिर यिनै शब्दहरुको क्यानभासमा कोरिएर तिम्रो नाममा जिउन बिबस छु मनरुपा । ति हाम्रा मेटिएर पनि नसकिएका कहानीहरु बारम्बार मेरा आँखा बाट चिप्लिएर लड्ने गरेका छन ।

 बिचरा ! ति हाम्रा अधुरा कहानी ।      

बेनी साप्ताहिकमा प्रकासित 

2 comments:

नीराजन शिरीष said...

अधूरो कहानी भनिए पनि वियोगान्त तर पूर्ण कथा भन्दा केहि कम छैन ! बिम्बको ब्यापक प्रयोग हुँदाहुँदै पनि भाषा

Prakusu Subedi said...

dhanyabad guru